दक्षिण-पूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरूको अग्रणी संस्था ‘द नेप्लिज एसोसिएसन इन साउथइस्ट अमेरिका’ (नासा) ले बाढीपीडितका लागि १८ लाखको सहयोग गर्ने भएको छ ।
नासाको ३५ वर्षे लामो इतिहासमा पहिलो पटक महिला अध्यक्षका रूपमा रहेकी विद्या गुरुङको कुशल नेतृत्वमा हालै अमेरिकाको टेक्ससस्थित ड्यालस शहरमा ३५औँ वार्षिक साधारण सभा तथा महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
यस ऐतिहासिक महाधिवेशनका क्रममा नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्नर्माणका लागि कुल ११,८३८ अमेरिकी डलर (करिब १७ लाख ९९ हजार ३ सय नेपाली रूपैयाँ)सङ्कलन गरी नेपाल पठाउने अन्तिम निर्णय गरिएको छ।
सँस्थाले दिएको राहत रकमको विवरण अनुसार ५,७१० अमेरिकी डलर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाइने भएको छ । यसै गरि ६,१२८ अमेरिकी डलर पेपाल मार्फत नेपाल पुनर्नर्माण तथा राहत पहलमा खर्च गरिने छ ।
सबै रकम पारदर्शी र व्यवस्थित ढङ्गले एकैपटक नेपाल पठाउने तयारी नासाले गरेको छ। नासा परिवारले भनेको छ, “यो सहयोग केवल पैसा मात्र होइन, यो विदेशमा बस्ने नेपालीहरूको आफ्नै मातृभूमिप्रतिको माया, एकता र सहयोगको भावना हो।”
नासाको ३५ वर्षको इतिहासमा पहिलो पटक ड्यालस शहरमा सम्मेलन आयोजना गरियो । कार्यक्रममा स्थानीय नगर प्रमुख लरी बियान्को, प्रोस्परिटी बैंकका अध्यक्ष ब्रेट बेल, उत्तर टेक्सस एसियाली समुदायका अध्यक्ष सुजान ओर्डोना लगायत विदेशी अतिथिहरूको विशेष उपस्थिति रहेको थियो। अमेरिकाका विभिन्न राज्यबाट आएका नेपालीहरूले साहित्य, संस्कृति र समाजसेवाका विविध कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए।
कार्यक्रममा नासाले ‘तामाङ सोसाइटी अफ टेक्सस’ र ‘फेडरेसन अफ इन्टरनेसनल नेपाली युथ इन्टरप्रेनर्स’ (फिन्ये ) अर्थात् अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घसँग मिलेर काम गर्ने द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ।
सबैभन्दा लोभलाग्दो र प्रेरणादायी क्षण तब बन्यो जब नेपालबाट अमेरिका पुगेका चर्चित लोकगायक कुलेन्द्र विश्वकर्माले आफूले कार्यक्रममा गीत गाए बापत पाएको सम्पूर्ण पारिश्रमिक रकम बाढीपीडित राहत कोषमा दान गर्ने घोषणा गरे।
साथै, नातिकाजी पुरस्कारबाट सम्मानित कलाकारहरू रोशन गुरुङ र शशी गुरुङले पनि आफ्नो सांगीतिक प्रस्तुतिमार्फत राहत कोषमा महत्त्वपूर्ण योगदान पुर्याए।
अध्यक्ष विद्या गुरुङको नेतृत्वमा नासाले आगामी दिनहरूमा पनि प्रवासमा नेपाली संस्कृतिको संरक्षण गर्दै नेपालमा पर्ने हरेक विपत्तिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

